काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका अभियुक्तविरुद्ध सरकारी वकिल पक्षको वहस आज मंगलवार सकिँदैछ ।
जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंका सह–न्यायाधिवक्ता अच्यूतमणी नेउपानेको नेतृत्वमा पक्राउ अभियुक्तविरुद्ध सात सरकारी वकिल वहसमा उत्रिएका छन् ।
उनीहरुविरुद्ध सरकारी वकिल पक्षको वहस आइतवारदेखि जिल्ला अदालत काठमाडौंमा जारी छ । वहसमा महेश खत्री, जनक घिमिरे, दिनेश भट्टराई, शुरबहादुर परियार, निर्मला मरासिनि र प्रकाश घिमिरे सहभागि छन् ।
जिल्ला अदालत काठमाडौंका अनुसार सरकारी वकिल पक्षको वहस सकिन साथ प्रतिवादीको पक्षबाट वहस प्रारम्भ हुनेछ । वहस अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा चलिरहेको छ ।
आगामी ३१ जेठ सम्ममा वहस सकेर अदालतले अभियुक्तलाई पुपक्र्षका लागि जेल पठाउने वा धरौटीमा रिहा गर्ने निर्णय लिनेछ ।
प्रतिवादी कुनै हालतमा धरौटी राखेर हिरासत मुक्त हुने पक्षमा छन् । त्यसो हुँदा उनीहरुले वहसका निम्ति ‘हाइप्रोफाइल’ अधिवक्ता नियुक्त गरेका छन् । पुर्व गृहमन्त्री बालकृष्ण खाणले बहसका निम्ति पूर्व महान्यायधिवक्ता खम्मबहादुर खाती, नेपाल बार एशोसियशनका पूर्व अध्यक्ष शेरबहादुर केसी र गोपालकृष्ण घिमिरेसहित अधिवक्ताको १८ टोली नियुक्त गरेका छन् ।
त्यस्तै, पूर्व उपप्रधान तथा उर्जामन्त्री टोपबहादुर रायमाझीले थुनछेक बहसमा ‘हाइ प्रोफाइल’ अधिवक्तालाई वहसमा उतारेका छन् । अदालतमा पेश विवरण अनुसार उनको पक्षबाट वहसको नेतृत्व वरिष्ठ अधिवक्ता सुशील पन्तले गरेका छन् । टोलीमा पूर्व महान्यायधिवक्ता रमेश बडाल पनि सहभागि छन् । त्यसबाहेक धर्मराज रेग्मी, पर्शुराम कोइराला, करुणाकर मल्लिक, आकृति रायमाझीलगायत आठ अधिवक्ताले उनको पक्षमा वहस गर्दैछन् ।
पूर्व गृहसचिव टेकनारायण पाण्डेले पनि वहसका निम्ति ‘हाइ प्रोफाइल’ अधिवक्तालाई नै नियुक्त गरेका छन् । उनको पक्षबाट वहसको नेतृत्व पूर्व महान्यायाधिवक्ता रमण श्रेष्ठले गर्दै छन् । टोलीमा गणेश रेग्मी, राम घिमिरेलगायतका अधिवक्ता सहभागी छन् । रेग्मी नेपाल प्रहरीका पूर्वएसएसपी हुन् । घटनामा १८ अभियुक्त पक्राउ परेका छन् । १२ फरार छन् ।