भरतपुर । चितवनको भरतपुर १० स्थित मालिका चोकमा रहेको मालिका फ्रेस हाउसबाट ५ बोरा सडेको मासु बरामद गरी नष्ट गरिएको छ । सडेको मासु मासु भेटिएपछि भरतपुर–१० का वडाध्यक्ष परमेश्वर खनालको निर्देशनमा मालिका फ्रेस हाउस बन्द गराइएको छ ।
उपभोक्ताको स्वास्थ्यमा गम्भीर लापरबाही हुने किसिमले गलेको मासु बिक्रि वितरण गर्दै आइरहेको भन्दै भरतपुर महानगरपालिकाको अनुगमन टोलीले पाँच बोरा मासु खाल्डो खनेर नष्ट गरेको हो । आगामी दिनमा जनस्वास्थ्यमा ख्याल गरेर पसल सञ्चालन गर्न उक्त फ्रेस हाउसका सञ्चालक दिनेश तिमिल्सिनालाई महानगरले चेतावनी दिएको छ ।
तिमिल्सिनाले खान मिल्ने नमिल्ने मासु एकैठाउमा राखेको स्वीकार गरेका छन् ।भरतपुर महानगरपालिकाका पशु चिकित्सक डा.दिपेश केसीले मानव स्वास्थ्यमा गम्भीर लापरबाही गरेको बताए । भरतपुर महानगरपालिकाले निरन्तर रुपमा भरतपुरका विभिन्न पसलहरुको अनुगमन गरिरहेको छ । स्वास्थ्य मापदण्ड पालना नगर्ने पसलहरुलाई धमाधम कारवाही समेत गरिएको छ ।