काठमाडौं । प्रतिनिधिसभाको बैठक सोमबारसम्मका लागि स्थगित भएको छ । प्रतिपक्ष तीन दलको अवरोधपछि एक घण्टामा बस्ने तय भएको बैठक सोमबारसम्मका लागि स्थगित भएको हो । बैठक सोमबार बिहान ११ बजे बस्ने तय भएको संसद् सचिवालयले जानकारी दिएको छ ।
आजको बैठकमा नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नागरिकता विधेयक प्रमाणीकरणको प्रक्रिया गलत भएको भन्दै विरोध गरेका थिए । तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले रोकेको विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले यही जेठ १७ गते प्रमाणीकरण गरेका थिए ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको समग्र हितको रक्षापछि मात्रै संसदको अवरोध हट्ने बताएका छन् ।
एमाले संसदीय दलका नेतासमेत रहेका ओलीले आइतवार बसेको प्रतिनिधि सभाको बैठक अवरोधपछि संसद् भवनबाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै राष्ट्र, संविधान र भूमिको रक्षापछि मात्रै संसदको गतिरोध हटाउने बताएका हुन् ।