काठमाडौं । सन्दीप लामिछाने विश्वकप छनोटको अभ्यास खेल खेल्न भोलि सोमबार दक्षिण अफ्रिका जाने भएका छन् । जिल्ला अदालत काठमाडौंले आगामी पेशी असार २९ गतेलाई सारेपछि नेपाल क्रिकेट संघ (क्यान)ले उनलाई दक्षिण अफ्रिका पठाउने भएको हो ।
यसअघि गत मङ्गलवार राष्ट्रिय क्रिकेट टोली त्यसतर्फ प्रस्थान गरिसकेको छ । अदालतमा विचाराधीन मुद्दाका कारण सन्दीप टोलीसंगै जान पाएका थिएनन् । प्रत्येकपटक पेशी तोकिएको २१ दिनभित्र अनिवार्य अदालत उपस्थित हुनुपर्ने प्रावधानका कारण सन्दीप टोलीसँग जान नपाएर छुटेका हुन् ।
सन्दीपलाई राष्ट्रिय टोलीका लागि खेल्न सहज होस् भन्दै उनका कानुनी सहयोगीहरुले अदालतलाई अर्को पेशी डेढ महिना पछाडि सार्न निवेदन दिएका थिए । अदालतले सो निवेदनलाई स्वीकृत गरेपछि सन्दीपको दक्षिण अफ्रिका यात्रा सम्भव भएको हो ।