काठमाडौं । ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीसहित तीन जनाको नाममा रहेको घर सम्पत्ति रोक्का भएको छ । इमेज बचत तथा ऋण सहकारीका संस्थापक अध्यक्ष समेत रहेका नेपालीसहित तीन जनाको नाममा रहेको घर सम्पत्ति रोक्का भएको हो ।
बचतकर्ताको करिब २ अर्ब रुपैयाँ रकम फिर्ता गर्न नसकेपछि संस्थापक अध्यक्षसहित केही सञ्चालक समितिका सदस्यहरु फरार रहेका छन् ।
मालपोत कार्यालय बुर्तिबाङका प्रमुख सुर्यप्रसाद शर्माका अनुसार संस्थापक अध्यक्ष नेपाली र सञ्चालक चित्रबहादुर भण्डारीको नाममा रहेको घर जग्गा रोक्का भएको छ।
‘भूमि व्यवस्था तथा अभिलेक विभागले हामीलाई पत्र पठाएको छ,’ उनले भने, ‘सोही पत्र बमोजिम देवकुमार नेपालीसँगै उनकी श्रीमती छेला नेपाली र सहकारीका संचालक चित्रबहादुर भण्डारीको नाममा रहेको घर जग्गा रोक्का गरिएको छ ।’
भूमि व्यवस्था विभागबाट जेठ ९ गते पत्र प्राप्त भएको र ११ गते घर जग्गा रोक्का राखेको हो ।
बागलुङको ढोरपाटन नगरपालिका वडा नम्वर १, २ र ३ मा रहेका अध्यक्ष नेपालीको २२ कित्ता, श्रीमती छेला नेपालीको नाममा रहेका ७ कित्ता र चित्रबहादुर भण्डारीको नाममा रहेको १२ कित्ता घर जग्गा रोक्का गरिएको छ । यस्तै, देवकुमार नेपालीको नाममा रहेको बागलुङ नगरपालिका -२ मा रहेको ४ कित्तामा बनेकाे २ वटा घर पनि रोक्का गरिएको छ । यस्तै अध्यक्ष नेपाली र अन्य संचालकहरुको सेयर तथा बैंक खाता रोक्का पनि गरिएको छ।
गण्डकी प्रदेश सहकारी विभागले गत शुक्रबार अध्यक्ष नेपालीसहित अन्य संचालकहरूको नाममा रहेको घर जग्गा, सेयर तथा बैंक खाता रोक्का गर्न भूमि व्यवस्था विभाग, नेपाल राष्ट्र बैंक तथा धितो पत्र वोर्डमा पत्राचार गरेको थियो ।
सहकारीका अन्य संचालकहरु डोरबहादुर परियार, सचिव सुनील नेपाली, कोषाध्यक्ष लक्ष्मी सेन र संचालक सदस्यहरू रुपा विक र झकबहादुर शाहीको पनि घर जग्गा, सेयर तथा बैंक खाता रोक्का गर्न प्रक्रिया शुरु भएको छ ।