काठमाडौं । चारदिने औपचारिक भ्रमणका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतको नयाँ दिल्ली प्रस्थान गरेका छन् । समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री प्रचण्ड बुधवार दिउँसो नयाँ दिल्ली प्रस्थान गरेका हुन् ।
सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिना र मन्त्रीहरूले प्रधानमन्त्रीलाई विमानस्थलमा बिदाइ गरे । ४७ सदस्यीय सरकारी र उद्योगी व्यापारीसहितको टोली दिउँसो २ बजेर ५० मिनेटमा इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम छ ।
प्रधानमन्त्री प्रचण्डले आजै साँझ भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोबलसँग भेटवार्ता गर्ने कार्यक्रम छ । प्रधानमन्त्री नरेन्द्र मोदीसँग बिहीवार बिहान एक्लाएक्लै भेटवार्ता र प्रतिनिधि मण्डलस्तरमा कुरा गर्ने कार्यक्रम छ ।
भारतसँग केही सम्झौता पत्रमा हस्ताक्षर र केही आयोजना उद्घाटन गर्ने कार्यक्रम छ । भ्रमण सकेर प्रधानमन्त्री प्रचण्ड शनिवार स्वदेश फर्किने कार्यक्रम छ ।