भक्तपुर । शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड ठगी प्रकरणमा भक्तपुरबाट मात्रै ६६ करोडभन्दा धेरै ठगी भएको उजुरी परेको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) संजयसिंह थापाका अनुसार भक्तपुरबाट अहिलेसम्म १ हजार २ सय ९२ जनाले उजुरी दिएका छन् ।
उनीहरूको उजुरीका आधारमा भक्तपुरमा मात्रै ६६ करोड ३१ लाख ५८ हजार रूपैयाँ ठगी भएको देखिएको छ । अहिलेसम्म हामीकहाँ आएको उजुरीको आधारमा १ हजार २ सय ९२ जनाबाट ६६ करोडभन्दा धेरै ठगी भएको उजुरी परेको छ,’ एसपी थापाले भने ।
सीआईबीले अहिले सहकारीकी पूर्व अध्यक्ष अर्थात शिखर अर्गानाईजेनस ग्रुपकी अध्यक्ष गीता शर्मासहित ३ जनालाई पक्राउ गरेको छ । सहकारीका सदस्यद्वय पुष्कर मल्ल र अमिश भण्डारीलाई पनि पक्राउ गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रवक्ता थापाका अनुसार देशभरमा सहकारीका ३५ वटा शाखा रहेका छन् । जिल्लास्थित शाखाहरूमा पनि उजुरी आइरहेकाले एकीकृत ठगीको विवरण प्राप्त नभएको उनले बताए । प्रहरीले जुन जिल्लामा उजुरी परेको त्यही जिल्लाबाट अनुसन्धान भइरहेको बताएको छ ।
सहकारीका सञ्चालक केदारनाथ शर्मा फरार छन् । ठगी मुद्दाको ६० दिनको हदम्याद सकिन लागेकाले थप फरार अभियुक्तहरू पक्राउ परेपछि अनुसन्धान गर्ने गरी सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाउने तयारी गरेको छ ।