काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भ्रष्टाचाको अन्त्यनै आफ्नो पार्टीको पहिलो प्राथमिकताभएको बताएका छन् । शनिवार पार्टीको ललितपुर महानगरको भेलालाई सम्बोधन गर्दै सभापति लामिछानेले रास्वपाको पहिलो नम्बरमा रहेको काम भनेकै भ्रष्टाचारको
अन्त्य गर्नु रहेको बताए । उनले भ्रष्टाचार विरुद्ध रास्वपा चुप लागेर नबस्ने पनि प्रष्ट पारे । सभापति लामिछानेले रास्वपाले नक्कली भुटानी शरणार्थी प्रकरणमा छानबिन गर्न विशेष संसदीय समितिको माग गरिसकेको स्मरण गराए । नक्कली भुटानी शरणार्थी प्रकरणमा समातिएका ठूला भनेका नेता हाँगामात्रै भएकोले उक्त प्रकरणमा जरासम्म पुगेर छानविन गर्न संसदमा संसदीय समितिको आफुहरुले उठाएको उनको भनाइ थियो ।
लामिछाने भन्छन्– ‘अहिले समातिएका ठूला भनिएका नेताहरु ती भ्रष्टाचारका जरा होइनन्, हाँगामात्र हुन् जरासम्म पुग्नुपर्ने छ । जरासम्म पुग्न सकेको छैन, जरासम्म पुगोस भनेर राष्ट्रिय स्वतन्त्र पार्टीले अब संसदमा आवाज उठाउन थालिसक्यो । संसदमा विशेष समितिको माग गर्छौं ।’ लामिछानेले देशमा रहेको भ्रष्टाचारको जरोसम्म पुगेर त्यसलाई नउखेलेसम्म आफूहरुले स्वास नफेर्ने जिकिर समेत गरे ।