विराटनगर । पहिचानवादीहरुले प्रदर्शन गर्ने भएपछि मोरङ प्रशासनले शनिबारदेखि विराटनगरमा फेरि निषेधाज्ञा जारी गरेको छ। आइतबारदेखि सुरु हुने कोसी प्रदेश सभाको बजेट अधिवेशनबाट नाम खारेजीको माग गर्दै पहिचानवादीहरुले प्रदर्शन गर्ने घोषणा गरेकाले मोरङ प्रशासनले विराटनगरमा निश्चित समयका लागि शनिबारदेखि नै निषेधाज्ञा जारी गरेको हो।
मोरङका सिडिओ वीरेन्द्रकुमार यादवका अनुसार शान्तिपूर्ण प्रदर्शन गर्ने अधिकार जो कोहीलाई भएपनि संवेदनशील क्षेत्रको सुरक्षाका लागि प्रदेश सभा रहेको अस्पताल चोकदेखि देवकोटा चोक र मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय रेहको रोडशेष चोक, मुख्यमन्त्रीको निवास रहेको क्षेत्र र कोसी प्रोजेक्ट प्रदेश प्रमुखको कार्यालय रहेको कञ्चनबारी क्षेत्रमा अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरिएको हो।
यी क्षेत्रमा कसैले पनि कुनै पनि धर्ना, जुलुस र आन्दोलनका गतिबिधि गर्न पाउने छैनन्। प्रदेशको नाम कोसी राखेपछि विरोधमा पहिचान पक्षधरहरुले असन्तुष्टि जनाउँदै खारेजीका लागि विभिन्न आन्दोलन र प्रदर्शन गर्दै आएका छन्।
कोसी प्रदेश सभाको बजेट अधिवेशन १४ जेठदेखि सुरु हुने भएपछि पहिचान पक्षधरहरुले विराटनगर केन्द्रित आन्दोलन घोषणा गरेका छन्। उनीहरुले शुक्रबार विराटनगरमा युवा दस्ता सार्वजनिक गरी मार्चापास गराएका थिए।