काठमाडौं । सत्ता र प्रमुख प्रतिपक्ष दलका शीर्ष नेताबीच प्रतिनिधि सभाको बैठक सूचारु गर्ने विषयमा सहमति भएको छ। शनिबार बिहान सिंहदरबारमा तीन दलका शीर्ष नेता र प्रमुख सचेतकबीच भएको छलफलपश्चात संसद बैठक सुचारु हुने भएको हो।
बैठकपश्चात एमाले प्रमुख सचेतक पदम गिरीले सदन सुचारु गर्ने विषयमा सहमति भएको जानकारी दिए। उनले भने, ‘आज बिहान शीर्ष नेताबीच छलफल पश्चात संसद बैठक सुचारु गर्न सहमति भएको छ। बैठकमा पशुपतिनाथको विषयमा एमाले अध्यक्ष केपी ओलीमाथि लगाएको आरोप आधारहीन हो भनेर सत्ता पक्षबाट सम्बोधन हुनेछ।
उनीहरुबीच सांसदले दिएको अभिव्यक्ति रेकर्डबाट हटाउने पनि समझदारी भएको छ।
छलफलमा नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’,नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, गृहमन्त्री नारायणकाजी श्रेष्ठ, रक्षा मन्त्री पूर्णबहादुर खड्कालगायतका नेताहरु सहभागी छन्।संसद बैठक आज ४ बजेका लागि बोलाइएको छ।