काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले गणतन्त्रको विकल्प पश्चगमन हुन नसक्ने बताएकी छन् । बिहीवार राष्ट्रिय समाचार समितिले गणतन्त्र दिवसको अवसरमा आयोजना गरेको ‘हाम्रो संस्कृतिः हाम्रो सम्पदा’ नामक तस्वीर प्रदर्शनीमा बोल्दै मन्त्री शर्माले गणतन्त्र र लोकतन्त्रको विकल्प पश्चगमन (राजतन्त्र) हुन नसक्ने बताएकी हुन् ।
‘राम्रोलाई राम्रो, नराम्रोलाई नराम्रो भन्न सक्ने कुरा पनि गणतन्त्रबाट सम्भव भएको हो । नत्र यसरी स्वतन्त्रता हुँदैनथ्यो । हाम्रा शासक, सत्ता सञ्चालकहरूले गरेका कमजोरी र गल्तीलाई पनि हामी बाहिर बोल्न सक्दैनथ्यौं,’ उनले भनिन्, ‘यहाँ भएका समस्यालाई सुधार गर्ने पनि गणतन्त्रले नै हो । लोकतन्त्रले नै हो । यसको विकल्प पश्चगमन हुन सक्दैन । पछाडि फर्कने कुरा हुन सक्दैन ।’
गणतन्त्रकै कारण भ्रष्टाचार र बेथितिविरुद्ध ढुक्कले बोल्न सक्ने वातावरण बनेको उनको तर्क छ । मन्त्री शर्माले सरकार सञ्चालनका क्रममा भएका त्रुटिलाई व्यवस्थासँग जोडेर हेर्न नमिल्ने बताइन् । उनले गणतन्त्रले दलित, महिला लगायतका उत्पीडित समुदायलाई राजनीतिको शीर्ष तहमा पुर्याएको पनि बताइन् । राज्यको माथिल्लो तहमा पुगको कोही व्यक्ति बिग्रिएमा त्यसलाई गणतन्त्रको दोष भन्न नमिल्ने उनको जिकिर छ ।