काठमाडौं । बचतकर्ताको रकम हिनामिना गरेको आरोप लागेका ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपाली सम्पर्कविहीन भएका छन् । शनिबारदेखि मेयर नेपाली सम्पर्कविहीन भएको बागलुङ प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठले जानकारी दिइन् ।
'हिजोदेखि उहाँ (देवकुमार नेपाली) सम्पर्कविहीन हुनुभएको भएको छ,' उनले न्यूज खरीसँग भनिन्, 'जानकारी पाएलगत्तै हामीले गृहमन्त्रालय र अध्यामन विभागलाई खोजतलासका लागि पत्र लेखिसकेका छौं ।'
प्रहरी स्रोतका अनुसार नेपालीले ४ दिन अगाडि इलाका प्रहरी कार्यालय बुर्तिबाङमा मानसिक तनावका कारण केही समय स्वास्थ्य उपचार गर्न बाहिर जानुपर्ने भन्दै सम्पत्तिको रक्षा गरिदिन निवेदन दिएका थिए । नेपालीले प्रयोग गर्ने दुई वटै माेबाइल नम्बर स्वीच अफ छन् ।
नेपाली अध्यक्ष रहेको इमेज बचत तथा ऋण सहकारी संस्थामा तरलता नभएको भन्दै वैशाख ९ गते सूचना टाँसेर बन्द गरिएको थियो । सयौं मानिस उनको कार्यालयमा दैनिक भुक्तानी माग्न जाने गरेका थिए । नेपाली आफैंले ७० करोडभन्दा बढी रकम भुक्तानी गर्न बाँकी रहेको बताएका थिए ।
प्रशासनका अधिकारीले भने उनले एक अर्बभन्दा बढी रकम हिनामिना पारेको आशंका गरेका छन् । आफ्नो जायजेथा बेचेर भए पनि तिर्ने प्रतिबद्धता व्यक्त गरेका नेपालीको परिवार नै सम्पर्क विहीन भएको स्थानीयहरूले बताएका छन् ।
जेठ १ गते बागलुङ आएका नेपाली बुर्तिवाङ फर्केपछि सम्पर्कमा नरहेको बताइएको छ । नेपालीका चालकसमेत सम्पर्कमा नभएकोले सपरिवार भागेको हुनसक्ने स्थानीयले समेत आशंका गरेका छन् ।
ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायतले आफ्नो कार्यकक्षमा कार्यवाहक दिएको पत्र प्राप्त भएको बताए ।
बचतकर्ताको रकम तिर्न नसकेपछि ढोरपाटनका मेयर फरार, प्रशासनले लेख्यो गृह र अध्यागमनलाई पत्र
'हिजोदेखि उहाँ (देवकुमार नेपाली) सम्पर्कविहीन हुनुभएको भएको छ,' उनले न्यूज खरीसँग भनिन्, 'जानकारी पाएलगत्तै हामीले गृहमन्त्रालय र अध्यामन विभागलाई खोजतलासका लागि पत्र लेखिसकेका छौं ।'

