काठमाडौँ । काठमाडौं प्रदर्शनीमार्गस्थित त्रिभुवन विश्वविद्यालयको रत्नराज्यलक्ष्मी क्याम्पस (आरआर)मा विद्यार्थीको नतिजामा भएको त्रुटीको छानबिन गर्नुपर्ने माग संसद्मा उठेको छ । प्रतिनिधिसभाको सोमबारको बैठकमा माओवादी केन्द्रका सांसद माधव सापकोटाले विद्यार्थीको परीक्षामा त्रुटि गर्ने जिम्मेवार व्यक्तिहरूलाई कारबाही गर्न पनि माग गरेका छन् ।
सांसद सापकोटाले सरकारको ध्यानार्कषण गराउँदै छानबिन गरी दोषी उपर कारबाही हुनुपर्ने बताए । ‘त्रिभुवन विश्वविद्यालय र आरआर क्याम्पसको लापरबाहीले ५ सय भन्दा बढी विद्यार्थीको भविष्यमा प्रश्न चिह्न खडा भएको छ, उनीहरूको जीवनमाथि नै खेलबाड भएको छ,’ उनले भने, ‘ढिला परीक्षा लिने, ढिला नतिजा निकाल्ने अनि ५ सय विद्यार्थीको नतिजामा अनुपस्थिति उल्लेख गरिएको छ ।’
आन्तरिक परीक्षामा विषय शिक्षकले दिएको अंकसमेत फेरबदल गरिएको विषयमा छानबिन गर्न त्रिभुवन विश्वविद्यालयको समेत ध्यानाकर्षण गराए । ‘परीक्षा नियन्त्रण कार्यालयले क्याम्पसलाई, क्याम्पसले परीक्षा नियन्त्रण कार्यालयलाई दोष दिएर उम्कन मिल्दैन,’ सांसद सापकोटाले भने ।
त्रिवि परीक्षा नियन्त्रण कार्यालयले स्नातक तह बीए प्रथम वर्ष ब्याच २०७७ का विद्यार्थीको नतिजा १४ महिना लगाएर सार्वजनिक गरेको थियो । वैशाख १० गते प्रकाशित नतिजामा ५ सय भन्दा विद्यार्थीको नतिजामा अनुपस्थिति जनाइएको छ भने विषय शिक्षकले दिएको अंकमा समेत थपघट गरिएको पाइएको छ । पीडित विद्यार्थी आन्दोलित बनेका छन् । परीक्षा शाखाले गरेको लापरबाहीको क्याम्पस प्रशासनले संरक्षण गर्दै आएको छ । विद्यार्थी क्याम्पसको लापरबाहीले फेल भएपछि समस्यामा परेका छन् ।