काठमाडौं । पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेपछि उनकी पत्नी समेत रहेकी कांग्रेस नेत्री मञ्जु खाँण सम्पर्कविहीन भएकी छन् ।
मोबाइल समेत अफ गरेर मञ्जु सम्पर्कविहीन भएको प्रहरी स्रोतले जानकारी दियो । तर, यस प्रकरणमा अहिले नै मञ्जुलाई पक्राउ गरिहाल्ने तयारी भने प्रहरीको छैन । मनोवैज्ञानिक त्रासका कारण मञ्जु सम्पर्कविहीन भएको हुन सक्ने प्रहरी अधिकारीहरू बताउँछन् ।
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने धन्दामा संलग्न भएको आरोपमा खाँण बुधवार पक्राउ परेका हुन् ।
गिरोहका सदस्यले बालकृष्णपत्नी मञ्जुलाई ६ करोड बुझाएको दाबी गरिएको अडियो समेत सार्वजनिक भएको छ ।
उक्त अडियोको आधिकारिकता पुष्टि गर्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।
सो अडियोमा तत्कालीन प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवापत्नी आरजु राणा देउवालाई समेत २ करोड बुझाएको दाबी गरिएको छ ।