काठमाडौँ ।आफैँ अध्यक्ष रहेको नेपाल सुशासन पार्टी छोडेर उपनिर्वाचनको उम्मेदवारी मनोनयनको अघिल्लो दिन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गर्दै घण्टी चिन्ह लिएर बारा क्षेत्र नम्बर -२ बाट उठेका नेपाल प्रहरीका पूर्वडिआईजी रमेश खरेलको धरौटी जफत भएको छ ।
गणना भएकोमध्ये सदर मतको १० प्रतिशत ल्याउन नसकेपछि उनको धरौटी जफत भएको बताइएको छ । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले भारी मतसहित जितेको उक्त निर्वाचन क्षेत्रमा खरेल, आम जनता पार्टीका अरुण ज्ञवाली, राप्रपाका सोनालाल तेलीसहित ३१ जना उम्मेदवारले जमानत जोगाउन सकेनन् ।
बारा–२ मा १ लाख ५ हजार २ सय ४८ मतदाता रहेकामा ६९ हजार २२ मत खसेको थियो । त्यसमध्ये ८३० मत बदर भई ६८ हजार १ सय ९२ मत सदर हुँदा ३१ उम्मेदवारले १० प्रतिशत पुर्याउन नसकेका हुन् । जमानत जोगाउन कम्तीमा ६ हजार ८ सय १९ मत प्राप्त गर्नुपर्नेमा रास्वपाका उम्मेदवार खरेलले जम्मा २ हजार ८ सय २९ मत ल्याए । त्यस्तै, राप्रपाका उम्मेदवार तेलीले ११९ भोट पाएका हुन् ।
विजयी उम्मेदवार जसपाका यादवले २८ हजार ४ सय १५ मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी जनमत पार्टीका शिवचन्द्र कुशवाहाले २३ हजार ३ सय ३४ मत ल्याए । १० हजार २ सय १६ मत ल्याएका एमाले उम्मेदवार पुरुषोत्तम पौडेल तेस्रो भए ।
प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फका उम्मेदवारले १० हजार रुपैयाँ धरौटी राख्नुपर्ने व्यवस्था छ । सदर मतको १० प्रतिशत ल्याउन नसक्ने उम्मेदवारको उक्त धरौटी रकम जफत हुन्छ ।