ललितपुर । नयन बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष केशव दाहाल सामाजिक सञ्जालमा सुसाइड नोट लेखेर सम्पर्कविहीन भएका छन् । ललितपुरको सातदोबाटोस्थित उक्त सहकारीका अध्यक्ष दाहालले हिजो बिहान फेसबुक पेजमा सुसाइड नोत लेखेका हुन् ।
हिजो बिहानबाट सम्पर्कविहीन भएका उनले सहकारीमा समस्या आउँदा अन्य सञ्चालकले असहयोग गरेको, कर्जाको भारले थेगिनसक्नु भएको भन्दै उक्त अवस्था सिर्जना गर्नेहरुको फोटो र नाम नै उल्लेख गरेका छन् । उनले स्टाट्समा पैसा तिर्न बाँकी सदस्य र रकम समेत लेखेका छन् ।
दाहाल यसअघि मंसिर ५ गते पनि भक्तपुर जान्छु भन्दै सम्पर्कविहीन भएका थिए । आर्थिक मन्दीसँगै मुलुकभर धेरै वटा सहकारी संस्था समस्यामा परेका छन् । बचतकर्ताको रकम फिर्ता गर्न नसकेपछि ती संस्थाका अध्यक्षलगायत पदाधिकारीहरुलाई कर्जा सूचना केन्द्रले कालोसूचीमा राखेपछि उनीहरुको अवस्था थप अप्ठेरोमा परेको हो ।
यसअघि सिभिल, देउराली, सुमेरु, गतिशील, कान्तिपुर, ओरेन्टल, गौतमश्री बहुउदेश्यीय सहकारी संस्थाहरु टाट पल्टिसकेका छन् । यी सबै संस्था सञ्चालकले रकम दुरुपयोग गरेपछि समस्यामा परेका हुन् ।