काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफुले न्याय, सुशासन र विकासबाहेक केही नसोचेको बताएका छन् । नेपाल चेम्बर्स अफ कमर्शको ७२ औं साधारण सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन्।
‘मैले सामाजिक न्याय, सुशासन, विकास र समृद्धिबाहेक केही सोचेको छैन,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘प्रधानमन्त्रीको रूपमा म रहिरहँदा मैले सोचेको कुराहरू यी नै हुन् । यसबाहेक मैले केही सोचेको छैन ।’
आफूले सरकार सम्हाल्न थालेपछि अर्थतन्त्रका सूचकहरू सुध्रिँदै गएको दाबी प्रधानमन्त्री प्रचण्डको थियो । ‘गएको ३ महिनाको रेकर्डअनुसार हामी ठिकै ठाउँमा छौँ । ब्याजदर घटाउनेबारे लगातार बैठक भइरहेको छ । निजी व्यवसायहरूसँग पनि छलफल गरिरहेकै छौँ । निजी व्यवसायीहरूसँग पनि छलफलम छौँ । पोहोर सालको जस्तो आतङ्क छैन ।
सबै समस्या समाधान भयो ढुक्क भए हुन्छ भन्नेचाहिँ होइन, तर हामी सुधारउन्मुख छौँ । यसमा गम्भीर प्रयास भइरहेको छ,’ उनले भने ।
उनले आव २०८०/८१ को बजेट गुणात्मक हुने बताए । ‘परम्परागतरूपमा आउने बजेटजस्तो नहोस् भनेर भनेको छु मैले । यसैगरी अर्थमन्त्रालयसँगै सबैसँग छलफल भएको छ,’ उनले भने ।