काठमाडौँ । देशमा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । स्थानीय वायुको प्रभावले देशका पहाडी भूभागमा आंशिक बदली रही गण्डकी प्रदेशको पहाडी भूभागका केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।
बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मंगलवार देशका पहाडी भूभागमा आंशिक बदली रही गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका केही स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाको पछिल्लो विवरण अनुसार सोमवार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १२ दशमलव ४ डिग्री तथा अधिकमत तापक्रम २९ दशमलव ८ डिग्री सेल्सियस रहेको छ ।
सोमवार सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम २ दशमलव ० डिग्री सेल्सियस र सबैभन्दा बढी जनकपुरको अधिकतम तापक्रम ३७ दशमलव ५ डिग्री सेल्सियस रहेको छ ।