बागलुङ । बागलुङमा एकै पटक ४२८ जना स्थायी शिक्षक नियुक्त भएका छन् । शिक्षा सेवा आयोगको परीक्षाबाट उत्र्रिण भएका शिक्षकहरुलाई समन्वय इकाईले नियुक्त पत्र पदान गर्दै कार्य क्षेत्रमा खटाएको हो । ठुलो संख्यामा एकै पटक नियुक्त भएको पहिलो पटक हो ।
प्राथमिक तहको शिक्षक परीक्षामा उत्तिर्ण भएका शिक्षकलाई नियुक्ती दिएर पठाइएको इकाई प्रमुख कुश्मराज उपाध्यायले जानकारी दिए।तीमध्ये बडिगाड गाउँपालिकामा १०८ जना शिक्षक नियुक्ती भएका छन् । लामो समयदेखि जिल्लामा ५ सय ३३ शिक्षक दरबन्दी खाली भएकाले शिक्षक पदपूर्ति गर्न आवश्यक थियो ।
शिक्षक दरबन्दी खाली हुँदा निजी श्रोतका शिक्षक व्यवस्थापन गरेर पठन पाठन गरिएको थियो । कतिपय बिद्यालयमा गणित, अंग्रेजी र विज्ञान शिक्षक खाली थिए ।
‘महत्वपूर्ण विषयका शिक्षक नहुँदा विद्यार्थीको शैक्षिक गुणस्तरसमेत समस्या थियो’ इकाई प्रमुख उपाध्यायले भने्– ‘अब गुणस्तर सुधारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।’
यो पटक उत्तिर्ण भएर आउने अधिकांश शिक्षक स्नातक र स्नातकोत्तर तह उत्तिर्ण गरेर आएका छन् । उनीहरुबाट शिक्षा क्षेत्रमा सुधार ल्याउन र गुणस्तर सुधार गर्न सहयोग मिल्ने उपाध्यायको भनाइ छ ।
आवश्यकताको आधारमा पालिकालाई दरबन्दीका शिक्षक पठाएपछि पालिकाले ती शिक्षकलाई पुनः नियुक्ति दिएर विद्यालयमा पठाउने व्यवस्था गर्ने छ ।
सबैभन्दा धेरै बडिगाडका ६५ वटा विद्यालयमा शिक्षक दरबन्दी अभाव थियो । यसअघि निमावि र मावि तहको शिक्षक दरबन्दी पनि वितरण भइसकेको छ ।