काठमाडौं । काठमाडौं महानगरपालिकाका नगरप्रमुख बालेन्द्र शाहले महानगरमा बाटो मिचेर बनाइएका नेपाल प्रहरीका संरचना हटाउन आग्रह गरेका छन् । कानुनको कार्यान्वयन गराउने प्रहरीले नै कानुन मिचेको आरोप लगाउँदै उनले उक्त संरचना प्रहरीले नहटाएमा महानगरले संरचना हटाउनेसमेत बताएका छन् । उनले काठमाडौं महानगरभित्र बाटो मिचेर बनाएका विभिन्न १९ वटा प्रहरी बिट उल्लेख गर्दै तुरुन्त हटाउन आग्रह गरेका हुन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्– ‘फुटपाथ सँधै मान्छे हिड्नका लागि प्रयोग हुनु पर्छ भनेर हामीले फुटपाथमा व्यापार गर्न रोकेका छौँ । यो नियम सर्वसाधारणका लागि मात्रै होइन । सबैका लागि हो र हुनु पर्छ । कानुन कार्यान्वयन गर्ने नेपाल प्रहरीले नै बाटो मिचेर आफ्नो संरचना बनाउँछ भने त्यो गलत हुन्छ । त्यो संरचना प्रहरी आफैले हटाउनुहोला । नत्र समतामुलक कानुनको प्रयोगको लागि पनि हामी ति संरचना हटाउन बाध्य हुनेछौँ ।