काठमाडाैँ । प्रहरीले वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा ज्यान गुमाएका तथा बिदामा आउँदा ज्यान गुमाएका नेपालीहरूले प्राप्त गर्ने बीमा रकम ठगी गर्ने छ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
शुक्रवार नेपाल प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी गराएको हो । वैदेशिक रोजगारीका लागि विदेशमा काम गर्दागर्दै विविध कारणले ज्यान गुमाएका तथा बिदामा नेपाल आउँदा ज्यान गुमाएका भएका नेपालीहरूले बीमाबापत पाउने रकम मृतकका आफन्तहरूलाई केहीमात्रै दिई अन्य रकम आफूले नै ठग्ने गिरोहका छ जनालाई पक्राउ गरी सार्वजनिक गरिएको हो ।
प्रहरीले चैत २३ गते दिउँसो काठमाडौको गोङ्गबुबाट रामबहादुर तामाङसमेत ६ जनालाई पक्राउ गरी कारबाहीको प्रक्रिया अघि बढाएको काठमाडौँ उपत्यका अनुसन्धान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक डा.मनोजकुमार केसीले जानकारी दिए ।
उनले पक्राउ परेका तामाङको साथबाट मृतक व्यक्तिहरूको नागरिकता, राहदानी, जन्मदर्ता, मृत्युदर्ता, विवाह दर्ता, वडा कार्यालयको सिफारिस, बीमा कम्पनीको लेटरप्याड लगायतका महत्त्वपूर्ण कागजात फेला पारी उनीहरूलाई ठगीसम्बन्धी कसुरमा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको बताए ।