रमा क्षेत्री, बागलुङ । बागलुङको बडिगाड गाउँपालिकाले एक विद्यालयमा परेको बजेट अर्को विद्यालयमा राख्ने निर्णयबाट पछि हटेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममार्फत विनियोजित ४ कोठे भवनको (५० लाख) रकम अर्को विद्यालयमा राख्ने निर्णयबाट गाउँपालिका पछि हटेको हो ।
आज बसेको कार्यपालिकाको बैठकमा बडिगाड गाउँपालिका—८ मा रहेको कालिका प्रावि विद्यालयको ४ कोठे भवनको रकम बडिगाड गाउँपालिका-५ मा रहेको भानु माध्यमिक विद्यालयमा राख्ने प्रस्ताव बैठकमा लैजाने तयारी गरिएकाे थियाे । राष्ट्रपति शैक्षिक सुधार अन्तर्गत भानु माध्यमिक विद्यालयमा भने २ कोठे भवन (२५ लाख) रकम बिनियोजित भएको थियो ।
स्रोतका अनुसार गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारी र उपाध्यक्ष भीमसेन बनले कार्यविधि मिचेर सोही निर्णयका लागि कर्मचारीलाई दबाब दिएका थिए ।
संघीय सरकारले राखेको बजेट पालिकाले कार्यान्वयन गर्ने भनिएपनि एक विद्यालयको रकम अर्को विद्यालयमा राख्ने निर्णय पालिकाको अधिकारभित्र नरहेको शिक्षा तथा मानवस्रोत विकाश केन्द्रका निर्देशक अर्जुन ढकालले न्यूज खरीलाई जानकारी दिए ।
‘संघीय सरकारले गरेको निर्णय फेरबदल गर्ने अधिकार पालिकालाई हुँदैन, भएको निर्णयलाई कार्यान्वय गर्ने हो,’ उनले भने, ‘हामीले पालिकालाई पठाएको कार्यविधिमा पनि स्पष्ट लेखिएको छ ।’
पालिकाका एक कर्मचारीले यो कार्यविधि बिपरित हुने भनेपछि गाउँपालिका अध्यक्ष र उपाध्यक्ष सोही निर्णयबाट पछि हटेको स्रोतको दाबी छ ।
आज भएको कार्यपालिकाको बैठकमा एक विद्यालयको रकम अर्को विद्यालयमा राख्ने विषयमा कुनै प्रस्ताव नआएको एक कार्यपालिका सदस्यले जानकारी दिए ।