काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग मिटरब्याज पीडितले शनिवार भेट गरेका छन् । बिहान बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भेटवार्ता भएको प्रधानमन्त्री प्रचण्डका प्रेस विज्ञ मनहरी तिमिल्सेनाले जनाकारी दिए ।
भेटमा प्रधानमन्त्री प्रचण्डसमक्ष पीडितले मिटरब्याजबाट मुक्त गर्न आग्रह गरेका छन् । भेटमा सहभागी पीडितहरूले रोएर भक्कानिँदै प्रधानमन्त्री प्रचण्डसामु पीडा पोखेका छन् । भेटका क्रममा कुराकानी गर्दै पीडितको रुवाबासी मच्चिएको थियो ।
मिटरब्याज पीडितको गुनासो सुनेपछि प्रचण्डले सरकारले कानून बनाएर दीर्घकालीन रुपमै यसको समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे ।
‘अब ऐन बनाउने काम पनि सरकारले गर्छ । कानुन बनाएर दीर्घकालीनरुपमा नै यस समस्या समाधान गर्छु,’ उनले भने, ‘म यो समस्या समाधानका लागि गर्न पर्ने सबै काम गर्छु ढुक्क हुनुस् ।’ उनले गृहको टोलीसँग बार्ता गरी सहमति गरेर ढुक्क भएर घर जान पीडितलाई भनेका छन् ।
मिटरब्याज समस्या समाधानका लागि तत्काल उच्चस्तरीय आयोग बनाउने निर्णय मन्त्रिपरिषदले गरिसकेको बताउँदै उनले न्याय पाइन्छ भन्नेमा ढुक्क हुन आग्रह गरे ।