काठमाडौं । पशुपतिनाथ मन्दिर परिसरमा जडान गरिएको सिसिटिभी क्या मेराको तार काटेर दान पेटिका लुट्ने गरिएको खुलेको छ ।
पशुपतिनाथ मन्दिरभित्र राखिएको दान पेटिका हराएको घटनाबारे छानबिन गर्न बनेको समितिले बुझाएको प्रतिवेदनमार्फत सिसिटिभी क्यामेराको तार काटेर दान पेटिका लुट्ने गरिएको खुलेको हो ।
पशुपतिनाथ मन्दिरमा राखिएको दान पेटिका २०७९ माघ १४ गते हराएको थियो । हराएको दान पेटिका केही घण्टापछि पुनः सोही स्थानमा भेटिएको घटना सार्वजनिक भएपछि पशुपति क्षेत्र विकास कोषले छानबिन समिति गठन गरेको थियो ।
पशुपति क्षेत्र विकास कोषका सञ्चालक परिषद् सदस्य देवीप्रसाद बरालको संयोजकत्वमा सात सदस्यीय छानबिन समिति गठन गरिएको थियो । उक्त समितिले छानबिन सकेर आवश्यक कारबाहीको सुझावसहित कोषलाई प्रतिवेदन बुझाइसकेको छ । तर, छानबिन समितिले कोषलाई प्रतिवेदन बुझाए पनि हालसम्म सार्वजनिक गरिएको छैन । प्रतिवेदन सार्वजनिक गर्दा अप्ठ्यारो पर्ने भएकाले लुकाइएको आरोप लाग्ने गरेको छ ।