काठमाडौँ । इन्जिनियर लाइसेन्स परीक्षामा ५६५ जना पास भएका छन् । मङ्गलवार इन्जिनियरिङ काउन्सिलले पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी गराएको हो ।
परीक्षामा सहभागी भएका १९८१ जना विद्यार्थीहरूमध्ये ५६५ जना परीक्षार्थीहरुमात्रै पास भएको काउन्सिलका अध्यक्ष पदम साहीले बताए । उनले परीक्षा चैत्र १३ र १४ गते लिएको र जसमा साढे २८ प्रतिशत मात्रै उत्तीर्ण भएको बताए ।
उनले इन्जिनियरसम्बन्धी २० विधामा परीक्षा भएको बताए । इन्जिनियरिङ काउन्सिलले पहिलो पटक इन्जिनियर व्यवसायी दर्ता हुनको लागि लाइसेन्स परीक्षा लिन सुरु गरेको हो । उत्तीर्ण नहुनेले काउन्सिलको प्रमाणपत्र नपाउने र नेपाल भर इन्जिनियरका रूपमा काम गर्न नपाउने काउन्सिलले बताएको छ ।