काठमाडौं । मिसन ग्रासरुट अभियानमा अछाम पुगेका नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलको कार्यक्रम विथोलिएको छ । एमालेको ग्रास रुट अभियानअन्तर्गत अछाममा आयोजित कार्यक्रममा भीम रावलविरुद्ध बोलेपछि कार्यक्रम बिथोलिएको हो ।
कार्यक्रम शुरु हुनुपूर्व रावलका सन्दर्भमा कसैले पनि केही नबोल्ने समझदारी भएको थियो । तर सल्लाहकार समिति सदस्य डडेलधुराका पदमराज जोशीले भीम रावलका विरुद्ध बोलेपछि सहभागीले नाराबाजीसहित कुर्सी प्रहारसमेत गरेर उपाध्यक्ष पौडेल, प्रदेश इन्चार्ज लेखराज भट्ट, सह इन्चार्ज कर्ण थापा र अध्यक्ष दामोदर भण्डारीलाई बोल्नबाट बञ्चित गराएका थिए ।
मिसन ग्रास रुट अभियानमै एमाले अध्यक्ष ओली लुम्बिनी प्रदेशमा रहेका बेला उपाध्यक्ष विष्णुप्रसाद पौडेल सुदूरपश्चिम प्रदेश पुगेका थिए ।
सहभागी एक नेताका अनुसार पार्टीको आन्तरिक कार्यक्रममा एमाले नेता भीम रावलका सन्दर्भमा कसैले केही नबोल्ने सहमति विपरीत ओली पक्षका एक नेताले रावलको विरुद्धमा बोलेपछि रावल पक्षधर कार्यकर्ताले नाराबाजी गर्दै कुर्सी प्रहार गरेका थिए ।
साँफेबगरस्थित खाद्य गोदामको हलमा आयोजित उक्त कार्यक्रममा असामान्य अवस्था भएपछि कार्यक्रम नै स्थगित भएको थियो । लगातारको नाराबाजी र असामान्य अवस्थापछि जोशीले रावलका सन्दर्भमा आफूले बोलेका शब्द फिर्ता लिएका थिए । दुवै पक्षबीच रावलका सन्दर्भमा कसैले केही नबोल्ने सर्तमा करिब एक घण्टापछि कार्यक्रम शुरु गरिएको थियो ।