काठमाडौं । वैकल्पिक खेलाडी मिकेल मेरिनोले खेलको अन्त्यतिर गरेको उत्कृष्ट गोलको मद्दतले स्पेन फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ । लस एन्जलस स्टेडियममा शनिबार बिहान भएको रोमाञ्चक क्वाटरफाइनलमा बेल्जियमलाई २–१ गोल अन्तरले पराजित गर्दै स्पेनले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो ।
खेलको ३०औँ मिनेटमा फाबियन रुइजले गोल गर्दै स्पेनलाई सुरुवाती अग्रता दिलाएका थिए । यद्यपि, पहिलो हाफ सकिनु चार मिनेट अगाडि बेल्जियमका चार्ल्स डे केटेलेरेले सानदार हेडरमार्फत गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याएका थिए । दोस्रो हाफमा दुवै टोलीले गोलका थुप्रै अवसर सिर्जना गरे पनि सफलता पाउन सकेका थिएनन् ।
खेलको ८८औँ मिनेटमा बेल्जियमका वैकल्पिक गोलकिपर सेन्ने लामेन्सको गल्तीको फाइदा उठाउँदै मेरिनोले निर्णायक गोल गरे । बेल्जियमका मुख्य गोलकिपर थिबाउट कोर्टुवा चोटका कारण मैदान बाहिरिएपछि लामेन्स मैदान छिरेका थिए । मेरिनोले यसअघि पोर्चुगलविरुद्धको खेलमा पनि खेलको अन्तिम समयमा गोल गर्दै स्पेनलाई जित दिलाएका थिए ।
स्पेनको यो जितसँगै टोली सन् २०१० पछि पहिलो पटक विश्वकपको सेमिफाइनलमा पुग्न सफल भएको छ । सन् २०१० मा स्पेनले विश्वकपको उपाधि जितेको थियो । अब सेमिफाइनलमा स्पेनले आगामी बुधबार फ्रान्सको सामना गर्नेछ । हारसँगै बेल्जियमको विश्वकप यात्रा क्वाटरफाइनलमै टुङ्गिएको छ भने स्पेनका प्रशिक्षक लुइस दे ला फुएन्टेको टोली लगातार ३६ खेलसम्म अपराजित रहन सफल भएको छ ।






































