काठमाडौं । वाणिज्य बैंकहरूले असार महिनाका लागि पनि निक्षेपको ब्याजदर घटाएका छन् ।
कर्जाको तुलनामा निक्षेपको वृद्धिदर लगातार उच्च हुँदा बैंकहरूमा अधिक तरलताको चाप छ । जसले गर्दा कोषको लागत घटाउन बैंकहरूले निरन्तर ब्याजदर घटाउँदै लगेका हुन् । नेपाल राष्ट्र बैंकले बचतको ब्याजदरमा एउटा न्यूनतम क्याप लगाएको छ । केन्द्रीय बैंकले ब्याजदर करिडोरको तल्लो सीमाको रूपमा रहेको निक्षेप संकलन दरमा स्थायी निक्षेप सुविधा उपलब्ध गराउँदै आएको छ ।
मौद्रिक नीतिमा निक्षेप संकलन दर २.७५ प्रतिशत तोकेको छ । बचतको न्यूनतम ब्याजदर निक्षेप संकलन दरभन्दा कम भएका बैंकहरूले स्थायी निक्षेप सुविधा नपाउने व्यवस्था छ ।
सोही कारण बैंकहरूले बचतको ब्याजदर घटाउन सकेका छैनन् । जसले गर्दा लागत कम गर्न मुद्दती निक्षेपको अधिकतम ब्याजदर नै घटाएर ४ प्रतिशतभन्दा पनि तल झारेका हुन् ।
असारका लागि २० मध्ये २ बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ४ प्रतिशतभन्दा पनि तल झारेका छन् ।
२० मध्ये असारका लागि १३ बैंकले व्यक्तिगत मुद्दति निक्षेपको माथिल्लो ब्याजदर यथावत राख्दा ७ बैंकले भने घटाएका छन् । कुनै पनि बैंकले ब्याजदर बढाएका छैनन् ।
ब्याजदर घटाउने बैंकमा एनएमबि, कुमारी, स्ट्यान्डर्ड चार्टर्ड, हिमालयन, एनआईसी एशिया, लक्ष्मी सन्राइज र प्राइम कमर्सिलय बैंकले असारका लागि व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएका हुन् ।
जेठमा सर्वाधिक ४.८ प्रतिशत ब्याजदर रहेको एनएमबि बैंक असार सर्वाधिक ब्याजदर प्रदान गरेको छ । बैंकले असारमा जेठको भन्दा ०.०५ प्रतिशत बिन्दुले ब्याजदर घटाएर व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ४.७५ प्रतिशत ब्याजदर दिने भएको हो ।
असारमा व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ४ प्रतिशतभन्दा पनि कम हुनेमा कुमारी र स्ट्यान्डर्ड चार्टर्ड बैंक छन् । कुमारी बैंकले ब्याजदर ३.९६ प्रतिशतबाट ३.९१ प्रतिशतमा घटाएको छ । त्यस्तै स्ट्यान्डर्ड चार्टर्ड बैंकले ४ प्रतिशतबाट ३.९५ प्रतिशतमा घटाएको छ । हिमालयन बैंकले जेठमा ४.२५ प्रतिशत रहेकोमा असारमा ०.२५ प्रतिशत बिन्दुले घटाएर ४ प्रतिशत बनाएको छ ।
एनआईसी एशिया बैंकले ४.५ प्रतिशतबाट घटाएर ०.५ प्रतिशत बिन्दुले घटाएर ४ प्रतिशत बनाएको हो । त्यस्तै लक्ष्मी सन्राइज बैंकले पनि जेठमा ४.५ प्रतिशत रहेको व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर असारमा ४ प्रतिशत दिने भएको हो । त्यस्तै प्राइम कमर्सियल बैकले जेठको लागि ४.१५ प्रतिशतबाट ४ प्रतिशतमा घटाएको छ ।
बैंकहरूले हरेक महिनाको मसान्तका दिन अर्को महिनाको लागि निक्षेपमा दिने ब्याजदर प्रकाशित गर्नुपर्छ । आइतबार असारका लागि दिने निक्षेपको ब्याजदर सार्वजनिक गर्दा जेठको तुलनामा असारका लागि व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर औसतमा ०.०८ प्रतिशत बिन्दुले घटाएका हुन् ।
जेठमा व्यक्तिगत मुद्दतीमा दिने अधिकतम ब्याजदर औसत ४.३४ प्रतिशत रहेकोमा असारमा ४.२७ प्रतिशतमा झरेको छ । असारमा व्यक्तिगत मुद्दती निक्षेपमा एनएमबि बैंकले सर्वाधिक ४.७५ प्रतिशत ब्याजदर दिने भएको छ । यस्तै राष्ट्रिय वाणिज्य बैंकले जेठको ब्याजदर ४.७५ प्रतिशत नै प्रस्ताव गरेको छ ।
असारमा ब्याजदर राखेकामा राष्ट्रिय वाणिज्य, प्रभु, नबिल, नेपाल इन्भेष्टमेन्ट मेगा, सानिमा माछापुच्छ्रे, ग्लोबल आईएमई, नेपाल एसबीआई, नेपाल कृषि विकास, सिटिजन्स, सिद्धार्थ र एभरेष्ट छन् ।
बचतको न्यूनतम ब्याजदर २.७५ प्रतिशतभन्दा कम गर्न नसक्ने भएपछि लागत घटाउन मुद्दती निक्षेपको ब्याजदर पनि घटाउँदै लगेका हुन् । मुद्दती निक्षेपमा २ वर्षदेखि १० वर्षका लागि बैंकहरूले ४ प्रतिशत वा सोभन्दा माथिको ब्याजदर प्रस्ताव गरेपछि छोटो अवधिको मुद्दती निक्षेपमा भने सबैजसो बैंकको ब्याजदर ४ प्रतिशतभन्दा तल छ ।
निक्षेप लगाार बढ्ने र सोही अनुसार कर्जा बढ्न नसक्दा राष्ट्र बैंकले निरन्तर तरलता खिचिरेहको छ । बैंकहरुले १० खर्ब रुपैयाँभन्दा बढी तरलता राष्ट्र बैंकमा पार्क गरेका छन् ।

































