रामप्रसाद घिमिरे, बागलुङ । बागलुङ जिल्लाको बडिगाड गाउँपालिका क्षेत्रमा गएराति आएको हावाहुरी, असिनापानीसहितको वर्षाले ठूलो क्षति पुर्याएको छ।
प्राकृतिक विपत्तिका कारण गाउँपालिकाका विभिन्न वडामा दुई दर्जनभन्दा बढी घरमा क्षति पुगेको स्थानीयले बताएका छन्। विशेषगरी दाँगमा आएको तीव्र हावाहुरीले घरका छाना उडाउने, भित्तामा चिरा पार्ने तथा विद्युत अवरुद्ध गराउने जस्ता समस्या निम्त्याएको हो। रातिको समयमा आएको विपत्तिले स्थानीय बासिन्दा त्रसित बनेका थिए।
स्थानीय अनुसार डेमबहादुर घिमिरे, डुकुराज घिमिरे, चेमकली घिमिरे, मनिषा घिमिरे, तारापति घिमिरे, भीमबहादुर रास्कोटी, कल्पना घिमिरे, देविचन रास्कोटी, अमृत जिसी, सागर जिसी, अमरबहादुर पाईजालगायतका घरमा बढी क्षति पुगेको छ।
धेरै घरका जस्तापाता उडेको, गोठ तथा भण्डारण कक्षमा क्षति पुगेको र खाद्यान्न समेत भिजेर नष्ट भएको बताइएको छ। यस्तै बडिगाड गाउँपालिका वडा नम्बर ७ को खड्ग जयन्ती मावि, माइस्थान प्रावि, जनक आधारभूत विद्यालयलगायतका विद्यालयमा पनि क्षति पुर्याएको छ ।

हावाहुरीपछि बडिगाडका विभिन्न गाउँहरुमा विद्युत सेवा समेत अवरुद्ध बनेको छ भने कतिपय परिवार सुरक्षित स्थानतर्फ सर्न बाध्य भएका छन्। यद्यपि हालसम्म कुनै मानवीय क्षति भने नभएको स्थानीयवासीले बताएका छन्।

किसानले लगाएको मकैबाली असिनाले पूर्णरुपमा नष्ट गरेको छ। केही दिनअघिसम्म हरियाली देखिएको बारी अहिले उराठ दृश्यले किसान चिन्तित बनेका छन्। बडिगाड गाउँपालिका ५, का वडाध्यक्ष विष्णुप्रसाद आचार्यसहितको प्रहरी टोलीले क्षतिको विवरण संकलन सुरु गरेको जनाइएको छ।






































