काठमाडौं । प्रहरीले काठमाडौंको गोंगबुबाट एसएलआरको म्याग्जिन र ४५ राउन्ड गोलीसहित दुईजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सप्तरीको राजविराज नगरपालिका–१३ का २७ वर्षीय खगेन्द्र शर्मा र सोही ठाउँका २२ वर्षीय ओमशंकर गुप्ता रहेका जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं एसपी पवनकुमार भट्टराईले जानकारी दिए । गुप्ता काठमाडौं महानगरपालिका–३२, नरेफाँटमा बस्दै आएका थिए ।
एसपी भट्टराईले भने, “काठमाडौं टोखा नगरपालिका–९, गोंगबु शिव मन्दिरस्थित काबेली गेस्टहाउसमा जाँच गर्ने क्रममा ४५ राउन्ड गोली, एसएलआर हतियारमा प्रयोग हुने म्याग्जिन एकथान र मेटलको नक एकथानसहित उनीहरूलाई पक्राउ गरिएको हो ।”
पक्राउ परेकामाथि थप आवश्यक अनुसन्धान कार्य सुरु गरिएको प्रवक्ता भट्टराईले बताए ।



































