बागलुङ । गाउँ–गाउँमा सिंहदरबार पुगेपछि स्थानीय तहमा जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृतबीच समय–समयमा विवाद देखिनु नयाँ विषय होइन। यस्तै विवाद यतिबेला बागलुङको काठेखोला गाउँपालिकामा पनि देखिएको छ ।
गण्डकी प्रदेशकै दोस्रो ठूलो व्यापारिक केन्द्रका रूपमा परिचित बागलुङ जिल्लाका १० स्थानीय तहमध्ये सदरमुकामसँग जोडिएको काठेखोला गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत मुक्ति पौडेलले गाउँपालिका अध्यक्ष राजु थापालाई जथाभावी तोक आदेश नलगाउन सचेत गराएका छन् ।
पालिका स्रोतका अनुसार अध्यक्ष थापाले अनावश्यक रूपमा तोक लगाउने गरेको भन्दै सोमबार गाउँपालिका कार्यालयमा पुगेका पत्रकार तथा गाउँपालिकाका प्रवक्तासहितका जनप्रतिनिधिको उपस्थितिमा प्रमुख प्रशासकीय अधिकृत पौडेलले अध्यक्ष थापालाई सचेत गराएका हुन्।
नेपाल पत्रकार महासंघसहित केही सञ्चारमाध्यमसँग सूचना, सञ्चार तथा पर्यटन प्रवर्द्धनलगायतका क्षेत्रमा सहकार्य गर्ने विषयमा अध्यक्ष थापाले तोक आदेश लगाएपछि प्रमुख प्रशासकीय अधिकृत पौडेलले रोकिदिएका छन् ।
गाउँपालिकाको गत असारमा सम्पन्न गाउँसभाको १७औँ अधिवेशनबाट पारित कार्यक्रमअनुसार सूचना, सञ्चार तथा पर्यटन प्रवर्द्धनका क्षेत्रमा नेपाल पत्रकार महासंघ र अन्य सञ्चारमाध्यमसँग सहकार्य गर्ने योजना स्वीकृत भएको नेपाल पत्रकार महासंघका कोषाध्यक्ष खेमराज गौतम सुवालले जानकारी दिए ।
“गाउँसभाबाट संस्थागत सहकार्य गर्ने निर्णय भएको थियो। गाउँपालिका, नेपाल पत्रकार महासंघ तथा अन्य सञ्चारमाध्यमबीच सहमति गरी कार्यक्रम छिटो कार्यान्वयन गर्न अध्यक्षले तोक लगाउनु भएको हो,” पत्रकार महासंघका पूर्वसचिव विजय रानाले भने, “उहाँहरूबीच केही समस्या थिए भने आन्तरिक रूपमा छलफल गरेर समाधान गर्न सकिन्थ्यो । सबैको उपस्थितिमा त्यसरी प्रस्तुत हुँदा व्यक्तिगत द्वन्द्वजस्तो देखियो।”
घटना बारे प्रमुख प्रशासकीय अधिकृत मुक्ति पौडेलले हिजो पत्रकार महासंघ र संचार माध्यमलाई भुक्तानी दिने बिषयमा छलफल भएको भुक्तानी दिँदा नियम विधि पुर्याएर दिने र तोक लगाएको भरमा काम नगरौं कार्यपालिकाबाट पास गरेमात्र दिनपुर्ने बताए । आफ्नो मनसाय गलत नभएकाले अध्यक्ष ज्युसँगै कार्यक्रम रहेको अहिले जताततै समस्या आएको हुँदा सचेत भएर काम गर्नुपर्छ भन्ने आफ्नो मनसाय रहेको पौडेलले बताए ।
अध्यक्ष थापाले भने यस विषयमा सार्वजनिक प्रतिक्रिया दिएका छैनन्। तर, पालिका स्रोतका अनुसार पत्रकार र जनप्रतिनिधिकै अगाडि प्रमुख प्रशासकीय अधिकृतबाट त्यस्तो व्यवहार हुनु उपयुक्त नभएको टिप्पणी समेत भएको छ।
यस विषयमा गाउँपालिका प्रवक्ता तथा कार्यपालिका सदस्य टीका संगम विकले गाउँसभाको निर्णय कार्यपालिकाबाट पुनः अनुमोदन गरी अगाडि बढाइने तयारी भइरहेको बताए ।
“प्रमुख प्रशासकीय अधिकृतले कार्यपालिका बैठकबाट पुनः निर्णय गराउन सुझाव दिनु भएको हो। गाउँसभाबाट पारित निर्णय कार्यान्वयन गर्ने जिम्मेवारी प्रमुख प्रशासकीय अधिकृतकै हुन्छ। अध्यक्षले बारम्बार तोक लगाइरहनु आवश्यक पर्दैन भन्ने उहाँको भनाइ हो,” विकले भने, “यसलाई अन्यथा रूपमा लिनु हुँदैन।


































