काठमाडौं । बागलुङको बडिगाड गाउँपालिका वडा नम्बर ५ स्थित बडिगाड डोजो रहेको कभर्ड हल र आवासीय भवनको विवाद सतहमा आएको छ। सरकारले अतिक्रमण भएको सार्वजनिक जग्गाको विवरण संकलन सम्बन्धी सूचना जारी गरेसँगै विवाद सतहमा आएको हो ।
गत शनिबार जिल्ला प्रशासन कार्यालय बागलुङका प्रमुख (सिडिओ) कृष्णप्रसाद आचार्यसहितको टोलीले सो कभर्डहलसहित आवासीय भवन खाली गराउन निर्देशन दिएको हो ।
सिडिओको निर्देशनपछि बडिगाड डोजोले खेलकुद तथा खेलाडीहरुमाथि मानसिक असर परेको बताएको छ । विज्ञप्ति जारी गर्दै ‘प्रमुख जिल्ला अधिकारीसहितको टोलीले साना बालबालिकामा डर, त्रास र मानसिक दबाब सिर्जना गरी गरेको व्यवहारप्रति गम्भीर ध्यानाकषर्ण भएको छ,’ बडिगाड डोजोले भनेको छ, ‘घटनाले त्यहाँका बाल खेलाडीहरुको मानसिक असुरक्षा, भय तथा निराशा उत्पन्न भएको महसुस गरिएको छ । खेलकुद जस्तो सकरात्मक र अनुशासित क्षेत्रमा संलग्न बालबालिकाको मनोबल कमजोर बनाउने तथा खेलमैत्री वातावरणमा प्रतिकूल असर पुग्ने खालका गतिविधि कुनै पनि दृष्टिकोणले उपयुक्त मान्न सकिँदैन ।’
यसै विषयमा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले अहिले अल्टिमेटम दिएको र पुरा नगरे सोही संरचनामा डोजर चलाउनुपर्ने बताएका छन् । न्यूज खरीसँग कुराकानी गर्दै उनले भने– ‘कुनै सरकारी संरचनामा बिना पैसा कसैको परिवार ५, ६ वर्षदेखि बस्छ भने त्यसमा डोजर चल्छ ।’
‘बनेका संरचनामा हामी पुगेका थियौं,’ उनले भने, ‘उहाँहरुले प्रयोग गरेको भवन खाली गराउन भनिएको छ, मैले पनि त्यो कुरा बुझ्ने क्रममा छु । आउनुस् बसेर छलफल गरौंला ।’
यता बडिगाड डोजोका अध्यक्ष राजन पाइजाले सोही संरचनाको रेखदेख र सरसफाइका लागि आफ्नो परिवार खटिदै आएकोे स्वीकार गरेका छन् । ‘डोजो तथा आवासीय संरचनाको संरक्षण, रेखदेख, सरसफाइ र व्यवस्थापनका लागि विगत करिब चार वर्षदेखि मेरो परिवार निरन्तर रुपमा खटिँदै आएको छ,’ उनले भने, ‘छोरा छोरीहरुको समय, श्रम, त्याग र समर्पणबाट नै संरचना सञ्चालन र संरक्षण हुँदै आएको हो ।’
२०७४ सालमा बडिगाड डोजोले बडिगाड गाउँपालिका, संसद विकास कोषलगायतको सहयोगमा २ रोपनी सार्वजनिक जग्गामा कभर्ड हल र खेलाडीका लागि आवासीय भवन निर्माण गरेको थियो । स्थानीय सरकारलगायत स्थानीयबासीहरुको स्वीकृतिमा सो भवनहरु निर्माण गरिएको डोजोले जनाएको छ ।

भवनमा सशस्त्र प्रहरी राख्ने प्रस्ताव
बडिगाड डोजो भएको आवासीय भवनमा सशस्त्र प्रहरी राख्ने प्रस्ताव गरिएको छ । विपद्को समयमा सोही आवासीय भवन खाली गराएर सशस्त्र प्रहरी राख्ने प्रस्ताव गरिएको हो । सशस्त्र प्रहरी राख्ने विषयमा बडिगाड गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष विष्णुप्रसाद आचार्यले प्रस्तावित भएको बताएका छन् ।
‘सिडिओ साबले त्यहाँ सशस्त्र राख्न पर्यो भन्नुभएको छ,’ उनले भने, ‘त्यहाँ नभई बडिगाड २ खर्बाङमा सशस्त्र राख्दा उत्तम हुने कुरा चलिरहेको पनि छ ।’ डोजो रहेको भवन र कबर्ड हलको विषयमा विवाद सहतमा आएको बताउँदै समिति गठन गरेर खेलाडीलाई नै जिम्मा दिने गरी छलफल अगाडी बढेको उनले बताए ।
सशस्त्र प्रहरी राख्ने र संरचनामा डोजर लगाउने विषयमा आफ्नो असहमति रहने भन्दै परी आए वडाध्यक्ष पदबाटै राजीनामा दिने बताए ।
‘पहिल्यै देखि बडिगाड गाउँपालिकामा पनि यस बिषयमा छ कुरा उठिरहेको थियो,’ उनले भने, ‘अहिले सरकारी जग्गाको अतिक्रमण सरकारले नै हटाउने भनेपछि विषय थप पेचिलो बनेको हो ।’
बडिगाड गाउँपालिकाका कर्मचारी भाडामा बस्दै आएको र कर्मचारीलाई सोही आवासीय भवन प्रयोग गर्न दिने विषयमा पनि यसअघि चर्चा चलेको उनी बताउँछन् ।



































